आवश्यक सामग्री :
मासको दाल – आधा किलो
नून – स्वाद अनुसार
तेल – १ कप
बेसार – १/२ चम्चा
अदुवाको पेस्ट – १/२ चम्चा
लसुनको पेस्ट – १/२ चम्चा
बनाउने विधि :
१) सर्वप्रथम मासको दाललाई एक दिन अघि नै पानीमा भिजाएर राख्ने ।
२) उक्त भिजेको मासको बोक्रा जाने गरी पखाल्ने र त्यसलाई मिहिन हुने गरी पिस्ने ।
३) मासको पेस्टमा बेसार, अदुवा, लसुन र नुन मिसाएर राम्रोसँग चलाउने ।
४) अब एउटा तावालाई मध्यम तापमा तताउने र त्यसमा आधा चम्चा तेल हाल्ने ।
५) एउटा सानो कचौरामा चिसो पानी राख्ने ।
६) तेल तातिसकेपछि बायाँ हत्केलामा अलिकति पानी हाल्ने र दायाँ हातमा सानो बल आकारको मासको पेस्ट लिएर बायाँ हत्केलामा हालेर पेडा आकार बनाउने र विस्तारै तावामा हालेर औँलाको मद्दतले गोल आकारमा मिलाउने ।
७) अलि अलि तेल थप्दै बारालाई ओल्टाईपल्टाई गरी पकाउने ।
८) बारा हल्का खैरो रङको भएपछि यसलाई प्लेटमा निकाल्ने ।
९) यसको साथै बारा माथि अन्डा, मासु हालेर पनि बनाउन सकिन्छ ।
१०) यसलाई तातो तातो मै खाँदा मिठो हुन्छ ।